Trending :
 

ल्होसार कुनै जाति विशेषको मात्र नभएर सिङ्गो राष्ट्रको साझा पर्व हो: प्रधानमन्त्री

माघ २७,२०८०

-आस्था न्यूज

माघ २७, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ समुदायले आज मनाउँदै गरेको सोनाम ल्होसार पर्वको शुभकामना दिएका छन् । 
 
शनिबार शुभकामना सन्देश जारी गर्दै दाहालले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका हुन् ।
 
यस्तै उनले राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । दाहालले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको समेत सन्देशमा उल्लेख गरेका छन् । 
 
संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् । 
 
“लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन् । 
 
दाहालले ल्होसार पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । दाहालले पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व भएको उल्लेख गरेका छन् । 
 
साथै प्रधानमन्त्री दाहालले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गर्दै सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।