Trending :
 

काठमाडौंका सडकमा १ हजार बढी स्मार्ट स्ट्रिट लाइट जोडियो

माघ २८,२०८०

-आस्था न्यूज

२८ माघ २०८० काठमाडौं ।
काठमाडौं महानगरले अहिले महानगर क्षेत्रका सडकहरुमा धमाधम स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिरहेको छ। रातको समयमा सडक र बजारलाई उज्यालो बनाउन सुरु गरिएको योजनाअन्तर्गत १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ। 
 
रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरको भनाइ छ।
 
जसका लागि कूल ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ।
 
यसका लागि नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहकार्य भएको महानगरले जनाएको छ। स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो।
 
यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ। बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। यसबाट छनोट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो। सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ।
 
स्मार्ट स्ट्रिट लाइटबाट सडक झलमल्ल पार्ने यो अभियानमा ५० प्रतिशत काम सकिएको महानगरपालिकाले जनाएको छ।
 
१ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले बताए। 
 
महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा जडान गरिएको उनको भनाइ छ।