Trending :
 

बढुवा प्रक्रिया अघि बढाउने सहमतिपछि बीपी प्रतिष्ठानमा आन्दोलन फिर्ता

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र शिक्षक तथा व्यवस्थापनबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
 
आफूहरुको बढुवा प्रक्रिया अघि नबढाएको भन्दै झन्डै एक महिनादेखि कर्मचारी र शिक्षकले आन्दोलन गर्दा पठनपाठनका साथै उपचार सेवा प्रभावित भएको थियो ।
 
प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्की बढुवा प्रक्रिया अघि बढाउन सहमत भएपछि आन्दोलन स्थगित भएको हो । फागुन ६ गतेदेखि बढुवाका लागि अन्तर्वार्ता सञ्चालन गर्न सहमति गरिएको छ ।
 
प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त निर्णयपछि उपकुलपतिको कार्यालयमा भएको छलफलमा आन्दोलन फिर्ता लिने र शिक्षक कर्मचारी काममा फर्कने सहमति भएको हो । 
 
आफूहरुको माग पूरा गर्न प्रतिष्ठान व्यवस्थापन सहमत भएपछि आन्दोलनस्थगित गरिएको कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज अहमत खानले जानकारी बताए ।
 
उनका अनुसार फागनु ६ गतेदेखि अन्तर्वार्ता सञ्चालन गरी एक साताभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापनले कारवाही नगर्ने सहमति पनि भएको छ ।