Trending :
 

कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा समाज परिवर्तन हुँदैनः चित्रबहादुर केसी

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
 
कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै केसीले राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको औंल्याए। उनले राजनीति गर्ने भनेको जसरी पनि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताउँदै उनले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे।
 
केसीले भने, ‘कुनै राष्ट्रलाई सखाप पार्नुछ भने त्यो राष्ट्रमा गलत शिक्षा भित्र्याउनुपर्छ भन्ने कुनै एक मानिसको भनाइ थियो। नेपालमा जागिर खाने भनेको राष्ट्र र जनताको सेवाको लागि होइन कि जसरी पनि पैसा कमाउने हो भन्ने छ। जुन शिक्षा प्रणाली छ, यसले राष्ट्र आज अत्यन्त अधोगति भइरहेको छ।’
 
देशमा मान्छे बेचबिखन गर्न दलाल कटिवद्ध रहेको उल्लेख गर्दै उनले राज्य प्रशासनमा बस्ने मानिसहरुको संरक्षण बेगर तिनले मनपरी गर्न नसक्ने बताए। ‘सबैभन्दा पहिला राज्य सञ्चालन गर्नेहरु सच्चिनुपर् । हाम्रो प्रवृत्ति बदल्नुपर्छ। एक जनालाई जेलमा कोचेर नेपाली समाज बदलिँदैन। यही कारणले देशको अखण्डता, राष्ट्रियता गम्भीर संकटमा छ,’ केसीले भने।