Trending :
 

गत वर्ष मात्रै ७० हजार ९१५ नेपाली स्थायी बसोबासका लागि विदेशिए

माघ २८,२०८०

-आस्था न्यूज

माघ २८, २०८० काठमाडौं ।
गएको वर्ष नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसोबासका लागि विदेशिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा अध्यागमन विभागले यो जानकारी दिएको हो ।
विभागका विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना भित्रिएका बताउनुभयो ।
 
उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको बताउनुभयो । उहाँले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका जानकारी दिनुभयो ।
 
महानिर्देशक तामाङले यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश नभएको बताउनुभयो । सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ । 
 
महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ समाल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताउनुभयो । अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
 
सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको विभागको तथ्याङ्क छ ।