Trending :
 

सुशील कोइराला यु-१९ महिला क्रिकेट: सुदूरपश्चिम र गण्डकी विजयी

माघ २९,२०८०

-आस्था न्यूज

माघ २९, २०८० काठमाडौं । 
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । 
 
सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो । 
 
बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिईन् 
अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन्। स्नेहा महराले अविजित २४ रन बनाईन्। तेश्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे । 
 
बागमतीको बलिंगमा एक मात्र विकेट मनिषा उपाध्यायले लिईन् ।  टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । 
 
बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिईन् । क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
 
सुदूरपश्चिमको बलिंगमा अनु कडायत र क्रिश्मा गुरुङले १र१ विकेट लिए। सुदूरपश्चिमले ५ विकेट रन आउट मार्फत पायो । 
 
दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो ।  
 
गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६।५ ओभरमा ६२ रनमा सबै विकेट गुमायो । 
 
लुम्बिनीको ब्याटिंगमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  
 
गण्डकी प्रदेशको बलिंगमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन्। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन् । रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १र१ विकेट लिए ।  
टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । 
 
गण्डकीको लागि सिमाना केसीले सर्वाधिक ४३ रन बनाईन्। अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन् ।  सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिईन्। लुम्बिनीको बलिंगमा सरु तिवारीले १ विकेट लिंदा बाँकि ३ विकेट रन आउट मार्फत पायो । 
 
आज जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ ।  समान अंक सहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर–११ शिर्ष स्थानमा छ । 
 
२ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेश्रो र चौंथो स्थानमा छ। तिन वटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौड बाट बाहिरिएको छ ।