Trending :
 

माओवादी केन्द्रले सहरी क्षेत्र र तराई-मधेशमा संगठन सुदृढिकरण गर्न विषेश अभियान चलाउने

माघ २९,२०८०

-रासस

माघ २९, २०८० काठमाडौं । 
नेकपा माओवादी केन्द्रले सहरी क्षेत्र र तराई-मधेशमा संगठन सुदृढिकरण गर्न विषेश अभियान सञ्चालन गर्ने भएको छ । सांगठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
 
आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई-मधेशका जिल्लामा जनपरिचालन, संगठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
 
सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिएपछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ, प्रवक्ता सापकोटाले भने ।
 
माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए ।
 
चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
 
माओवादी केन्द्रको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन् । यस्तै सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।
 
पार्टीका उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमाथि माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल भइसकेको छ । यसैगरी माओवादी केन्द्रले सङ्घीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनका मुद्धालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ ।
 
त्यसका लागि जनवर्गीय संगठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ । जनवर्गीय संगठन एवं मोर्चाको सम्मेलन गरेर पुनः गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए । यस्तै प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र सङ्गठित गर्ने निर्णय गरिएको छ ।