यही फागुन ११ बाट तीन सहरमा फिल्म ‘गोर्खा वारियर’ प्रिमियर

फाल्गुण ०१,२०८०

-आस्था न्यूज

फागुन १, २०८० काठमाडौं ।
यही फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ले रिलिजअघि नेपालका प्रमुख तीन सहरमा काठमाडौं, धरान र पोखरामा रेड कार्पेट प्रिमियर गर्ने भएको छ ।
 
फिल्मका निर्देशन मिलन चाम्सका अनुसार मोफसलका ‘लाहुरेको सहर’ भनेर चिनिने धरान र पोखरामा क्रमशः फागुन ५ गते र फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिनेछ । त्यसपछि फागुन ९ गते काठमाडौंको बिग मूभिजमा प्रिमियर गरिनेछ ।
 
‘हामीले केही दिनअघि मात्र फिल्म प्रचारका लागि उपत्यकाबाहिरका ६ सहर (धरान, हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा र पोखरा) को यात्रा गरेका थियौं । ती सहरका दर्शकले फिल्म प्रिमियरको माग गरेपछि तीन सहरमा प्रिमियर गर्न लागेका हौं’, निर्देशक चाम्सले भने ।
 
फिल्मको यस अघि बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय प्रिमियर गरिएको थियो ।
 
निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
 
फिल्म नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् ।