पूर्वसैनिक सचिव विवेक शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक आउँदै
-आस्था न्यूज
फागुन १, २०८० काठमाडौं ।
तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ । शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन् ।
राजदरबार हत्याकाण्ड भएका बेला राजाको सैनिक सचिव रहेका शाहले पहिलो पुस्तकमा दरबारका अन्तरकथाको चर्चा गरेका छन् ।
चर्चामा रहेको त्यो पुस्तक मैले देखेको दरबारका लेखक, पूर्वसैनिक सचिव एवम् रथी शाहको नयाँ पुस्तक दरबारबाट देखेको नेपाल फागुन १२ गते शनिबार सार्वजनिक हुने भएको छ ।
उनले यस पुस्तकमा राजदरबारमा विभिन्न ओहोदामा रहँदा, देखेका, सुनेका र अनुभूत गरेका विषयवस्तुलाई समावेश गरेका छन् । साथै, उनले आफ्नो अप्रत्याशित अवकाश र सेवामा रहँदाका केही महत्वपूर्ण सन्दर्भहरु समेत समेटेका छन् ।
पहिलो पुस्तकमा दरबारभित्रका अनेकन रहस्य उदघाटन गरेका उनले यस पुस्तकमार्फत भने राजदरबारबाट बाहिर चियाउने प्रयास गरेका छन् । तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) को राजकाज र कार्यशैलीलाई नजिकबाट नियालेका उनले पुस्तकमा तीन राजाका कार्यकालमा दरबारले देशलाई हेर्ने दृष्टिकोणबारे बताउने प्रयास गरेका छन् ।
देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र सामरिक फाँटका अनेक प्रसङ्ग उजागर गर्दै लेखक शाहले निश्चित परिधिमा रहेका मानिसबाहेक अरुले थाहा नपाएका जानकारीसमेत यस पुस्तकमार्फत सार्वजनिक गरेका छन् ।
सक्रिय राजतन्त्र हुँदा पञ्चायती व्यवस्थाका समर्थकले र संवैधानिक राजतन्त्र हुँदा जनप्रतिनिधिहरुले गर्ने क्रियाकलापलाई दरबारले कसरी हेर्थ्यो भन्ने प्रसङ्गहरु यस कृतिका चाखपरक पक्ष हुन् ।
समग्रमा दरबार, राजनीतिक दल र तिनका नेताहरुबीचको शंका-स्वार्थहरुलाई यस पुस्तकमा सम्झनाका तरेलीमार्फत उतारिएको छ ।
नेपालको राजसंस्थाबारे जान्न चाहने स्वदेशी, विदेशी पाठकहरु र इतिहासका विद्यार्थीहरुलाई यस पुस्तकबाट केही जानकारी अवश्य मिल्नेछ भन्ने अपेक्षा राखेको लेखक शाहले बताएका छन् । अन्वेषक ठमनाथ घिमिरेले सम्पादन गरेका यो पुस्तक सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको छ ।