बर्तमान चार कार्यभार पुरा गर्ने हैसियत प्रचण्डसँग मात्र छः गृहमन्त्री
-आस्था न्यूज
फागुन १, २०८० काठमाडौं ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् ।
मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए ।
उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षा अनुसार भएन ।
त्यसकारण अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तिव्र गरेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, सञ्चार, बिजुली, खानेपानी जस्ता आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो ।
’
उनले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए ।
उनले भने,‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान, हितको रक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो । हाम्रो उपलब्धीको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो ।
राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो । यो चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ । अहिलेको यथार्थ हो ।’
उनले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे । नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्विकार नगर्नु भएको पनि उनको भनाई छ ।