वुमन्स प्रिमियर कपः माल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी
-आस्था न्यूज
फागुन १, २०८० काठमाडौं ।
एसिसी वुमन्स प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल माल्दिभ्सविरुद्ध २१४ रनले विजयी भएको छ। नेपालले दिएको २२८ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अलआउट भयो।
मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। २२८ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १३।५ ओभरमा मात्र १३ रन बनाएर अलआउट भयो।
माल्दिभ्सलाई १३ रनमा अलआउट गर्ने क्रममा नेपालकी अस्मिना कर्मचार्यले ४ विकेट लिइन्। रुबिना क्षेत्री र पूजा महतोले समान ३-३ विकेट लिइन्।
यसअघि नेपालका लागि रुबिना क्षेत्री र पूजा महतोले उत्कृष्ट साझेदारी गर्दै माल्दिभ्सविरुद्ध बिशाल रनको योगफल खडा गरेका थिए। रुबिना र पूजाले १६६ रनको साझेदारी गरेका थिए।
शतकीय पारी खेलेकी रुबिनाले ११८ रन प्रहार गरिन्। ५९ बलको सामना गरेकी उनले १० चौका र ५ छक्का प्रहार गरिन्।
पूजाले ३३ बलमा अर्धशतक पूरा गरिन्। ३६ बलको सामना गरेकी उनले ५९ रन बनाइन्। जसक्रममा पूजाले ५ चौका र एक छक्का बनाइन्।
नेपालले सुरुवाती ५ ओभरमै ३ विकेट गुमाएको थियो। नेपालका ओपनर कविता कुँवर १३ र सीता रानामागर १५ रन बनाएर आउट भएकी थिइन्। यस्तै, कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्। डली भट्ट ६ रन बनाएर चौथो विकेटमा रुपमा आउट भइन्।
समूह ‘डी’ को खेलमा नेपालले लगातार जित जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा माल्दिभ्सविरुद्ध विशाल रन अन्तरको जित निकालेर नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनल पुग्यो।