पूर्व डीआईजी छविलाल जोशीको घरबाट बरामद सर्भरमा सहकारीको सबै कारोबार फेला
-आस्था न्यूज
फागुन १, २०८० काठमाडौं ।
नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरबाट बरामद भएको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएको छ। माघ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर बरामद गरेको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएको हो।
पूर्वडीआईजी जोशीको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिसबाट प्रहरीले ४ वटा सर्भर (डिस्क) बरामद गरेको थियो। उक्त सर्भर पोखरा लगेर हेर्दा सहकारीको सम्पूर्ण कारोबार भेटिएको प्रहरी स्रोतले जानकारी दियो। ‘सर्भरमा सहकारीको कारोबार भेटिएको छ। हामी थप अनुसन्धान गर्दैछौँ,’ कास्की प्रहरीका १ जना अनुसन्धान अधिकृतले भने।
बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको साहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको प्रहरी स्रोतले जानकारी दियो। यी सबै सहकारीको गरेर १० अर्बभन्दा बढीको कारोबार विवरण उक्त सर्भरमा भेटिएको छ।
नेपाल लाइभबाट