छैटौं बागमती गोल्डकपमा मच्छिन्द्र क्लबको विजयी सुरुवात
-आस्था न्यूज
फागुन १, २०८० काठमाडौं ।
मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैटौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ ।
बागमती गाउँपालिकाको फापरबारीस्थित जनता माविको मैदानमा भएको उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५-२ गोल अन्तरले हराएको हो ।
मच्छिन्द्रले खेलको पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल ग¥यो । बागमतीले खेलको दोस्रो हाफमा २ सान्त्वना गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्ती मगरले खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार हात पारे । प्रतियोगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पा क्लब बीच खेल हुनेछ ।
खेलकुद विकास समिति बागमतीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन र तीन मोफसलका गरी १० टिमको सहभागिता रहने समिति अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए ।
जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जनजागृति क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौँ समूह ‘क’ मा छन् । यस्तै नेपाल आर्मीको त्रिभुवन क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब काठमाडौं, आयोजक बागमती खेलकुद विकास समिति, सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौं समूह ‘ख’ मा छन् ।
फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएका छन् । पाँचौं संस्करणको उपाधि विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने यसपटक सहभागिता जनाएको छैन ।