‘माइकल’मा जाफरको माइकल लुक्स

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० लसएन्जल्स (अमरउजाला) ।
विश्वविख्यात पप गायक माइकल ज्याक्सनको बायोपिक ‘माइकल’ लामो समयदेखि चर्चामा छ । उनका फ्यानहरु बायोपिकको व्यग्र प्रतिक्षामा छन् । यहीबीचमा निर्माण कम्पनी लायन्सगेट र युनिभर्सलले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ ।
 
फस्टलुकमा माइकलका भतिज जाफर ज्याक्सनलाई ‘किङ अफ पप’का रुपमा सन् १९९२-१९९३ डेन्जरस वल्र्ड टुरका समयमा ‘मेन इन द मिरर’मा प्रस्तुति दिँदै गरेको देखाइएको छ । यो तस्वीरलाई फोटोग्राफर केविन मजूरले खिचेका हुन् । केविन तिनै फोटोग्राफर हुन्, जसले माइकल ज्याक्सनको ‘दिस इज इट कन्सर्ट’को तयारीका समयमा उनको रिहल्सल खिचेका थिए ।
 
‘पहिलो दिन यो फिल्मको सेटमा पुग्दा म उत्साहित थिएँ । यो केही यस्तो थियो, जब म माइकल ज्याक्सनको टूर पहिलो टुर खिच्न गएको थिएँ । सेटमा पुग्दा मलाई यस्तो महशुस भयो कि म समयमा पछाडि चलेको छु र म टुरको सुटिङका लागि स्टेडियममा टहलीरहेको छु । जाफरले गीत गाइरहेको देख्दा मैले सोचें, वाह ! यो त माइकल हो । जसरी माइकल देखिन्छन् र अभिनय गर्छन्, उनको सबै व्यवहार जाफरले उतारेका छन् । जसले माइकल ज्याक्सनको कुनै प्रस्तुति प्रत्यक्ष हेर्न पाएनन्, उनीहरुलाई त्यस्तै माइकल हेर्ने मौका छ, किनकी माइकल यस्तै थिए,’ मजुरले भनेका छन् ।
 
निर्माता ग्राहम किङले पनि जाफरको प्रशंसा गरेका छन् । ‘जाफरका हरेक लुक्स, हरेक नोट, हरेक डान्स मुभ माइकलको जस्तै छ । उनी माइकललाई यसरी नै प्रस्तुत गर्छन्, जुन अर्को अभिनेता गर्न सक्दैन’, ग्राहमले भनेका छन् ।
निर्देशक एन्टोनी फुक्वाले पनि जाफरसहित सबै कलाकारको प्रशंसा गरको छन् । फिल्म ‘माइकल’ आगामी वर्ष अर्थात् सन् २०२५, अप्रिल १८ मा रिलिज हुँदैछ ।