आज प्रणय दिवसः विश्वभर नै आपसमा उपहार साटासाट गरी मनाइँदै
-आस्था न्यूज
फागुन २, २०८० काठमाडौं ।
आज प्रणय दिवस अर्थात् १४ फेब्रुअरी । यस दिन विश्वभर नै आपसमा उपहार साटासाट गरी मनाइँदै छ । प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरूलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । उपहारमा पहिलो प्राथमिकता पाउने वस्तु भनेकै गुलाफ हो ।
गुलाफ विश्वकै प्रसिद्ध फूल हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ, प्रेम दिवस आफ्ना प्रेमी(प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला रु पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ- ओहो, क्या सौन्दर्य ।
सम्भवतः गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन् । जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो । त्यसैले लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम र सौन्दर्यको उज्यालो छर्दै आएको छ ।
ईशा जन्मनु ६०० वर्ष पूर्व ग्रीक कवयित्री सफाले गुलाफको फूललाई ‘फूलहरूकी रानी’ भनेर आफ्नो काव्यमा प्रयोग गरेकी थिइन । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई पहिलो भेटमा दिने बहुमूल्य सौगात नै गुलाफको फूल भएकाले ‘भ्यालेन्टाइन डे’ मा यसको अधिक उपयोग हुने गरेको छ ।
ईशापूर्व २७३७ मा चीनको शोभंगवेशद्वारा गुलाफ रोप्न सुरु भएको तथ्य भेटिन्छ । गुलाफ गमलामा रोप्ने चलन चीन र सजावटको परम्परा जापानबाट सुरु भएको मानिन्छ । त्यसो त कन्फ्युसियसले ईसापूर्व ५०० मा चीनको पुस्तकालयमा उतिबेला नै गुलाफबारे लेखिएका ६ सय पुस्तक रहेको उल्लेख गरेका छन् ।
गुलाफको फूल अरु बेला प्रतिगोटा ६० रुपैयाँसम्म बिक्री हुने तर भ्यालेन्टाइनमा १०० रुपैयाँमा बिक्री गरेको व्यापारी बताउँछन् । सामान्य अवस्थामा मोल हुने गुलाफ, प्रेमोत्सवमा अनमोल हुन पुग्छ ।
गुलाफको इतिहास मुगल बेगम नूरजहाँ संग जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे । अर्को इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।