Trending :
 

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० काठमाडौं ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतीको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् । 
 
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् । 
 
उनले भने, ‘यो भवन प्राप्त भएसँगै विभागका साथीहरुलाई चुनौतीहरु पनि थपिएका छन्, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविको महत्वपूर्ण विभाग हो यो क्षेत्रको, विश्वमा हुने नयाँ परिवर्तन, विकास, उपलब्धीहरुलाई समेटेर ती प्रवृत्तिलाई देशभित्र व्यवस्थित रुपले अनुसन्धानमा भित्राउने काम यो विभागको जिम्मेवारीमा छ । यो विभागको स्तर उन्नती गर्ने दिशामा सबैजना एकध्यान भएर लाग्ने छौं, त्यसमा विश्व विद्यालयको तर्फबाट गर्नुपर्ने काममा सधैँ तत्पर नै रहन्छ ।’ 
 
यस्तै, उनले धेरै लामो संघर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने पनि बताए ।
 
उनले भने, ‘धेरै लामो संघर्षपछि यो पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको छुट्टै भवनको निर्माण भएको छ । प्राध्यपक, कक्षाकोठाको व्यवस्थापन जस्ता कुराहरुमा अलि खुम्चिएर बस्नु पर्ने अवस्था हामी सबैले भोगेका थियौं । अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले एउटा आफ्नो विशिष्ट सुविधासहितको भवन प्राप्त गरेको छ । यसबाट सहजताको वातावरण निमार्ण हुँदै जान्छ ।’