‘समावेशी र उन्नत राष्ट्रको आवश्यकता छ’
-आस्था न्यूज
फागुन २, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको सद्भाव र सहकार्यसहितको समावेशी र उन्नत राष्ट्रको आवश्यकता रहेको बताएका छन् ।
पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को बुधबार उदघाट्न गर्दै उनले कसैलाई निषेध गरेर नभइ समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्ने राष्ट्र समृद्ध बन्ने बताए ।
‘हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं,’ उनले भने,‘यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौं ।’
उनले देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किरात सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गरे ।
राष्ट्रपति पौडेलले साझा र एकताबद्ध सभ्यताबाट एउटा रंग निकाल्ने हो भने, सभ्यता अधुरो रहने टिप्पणी गरे ।
यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने,‘म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।’