भारतीय नेवीका आठ जनाको रिहाइमा शाहरुखको भूमिका रहेको समाचारको खण्डन

फाल्गुण ०२,२०८०

-आस्था न्यूज

फागुन २, २०८० मुम्बई (बीबीसी) ।
बलिउड अभिनेता शाहरुख खानको कार्यालयले भारतीय नेवीका आठ पूर्व कर्मचारीलाई कतारबाट गरिएको रिहाइमा उनको भूमिका रहेको समाचारको खण्डन गरेका छन् । कतारमा भारतीय नागरिकलाई अज्ञात मामलामा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
 
गत सोमबार ती आठ भारतीयलाई कतारका अमीर शेख तमीम बिन हमाद अल–थानीको आदेशमा रिहा गरिएको थियो । भारतीय नौ सेनाका ती पूर्व कर्मचारी भारत फर्किइसकेका छन् ।
 
शाहरुखले के भने ?
शाहरुखको कार्यालयले उक्त विषय दुई देश बीचका राजनीतिक मामला रहेको र भारतका सक्षम नेताहरुले यो विषयलाई निष्कर्षमा पु¥याएका बताएका छन् ।
 
मंगलबार भारतमा सामाजिक सञ्जालमा शाहरुख खान ट्रेन्डिङमा थिए । शाहरुख कतारमा पनि लोकप्रिय अभिनेता हुन् ।
 
शाहरुख हालैमात्र कतार गएका थिए । उनले त्यहाँका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीसँग भेटघाट गरेका थिए । यो भेट दोहाको एक कार्यक्रममा भएको थियो ।
 
पूर्व सांसद र बीजेपी नेता सुब्रमण्यम स्वामीले मंगलबार ट्वीटरमा भारतीयलाई रिहाइ गर्नमा शाहरुख खानले हस्तक्षेप गरेको दाबी गरेका थिए । उनको दाबी सामाजिक सञ्जालमा व्यापक शेयर भएको थियो ।
 
‘मोदीले सिनेमा स्टार शाहरुख खानलाई लिएर कतार जानुपर्छ । कतारका शेखका साथ भारतका विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकारको असफलतापछि मोदीले शाहरुख खानलाई हस्तक्षेपका लागि अनुरोध गरेका थिए । यसपछि कतार तयार भयो र हाम्रा नेवीका पूर्व अधिकारीहरु भारत फर्किए,’ मोदीको दुई दिनको यूएई यात्रासँग जोडिएको एक ट्वीटको जवाफ दिँदै सुब्रमण्यम स्वामी सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।
 
यो मामलामा शाहरुखको कार्यालयले एक विज्ञप्ति जारी गरेको थियो, जसलाई शाहरुखकी मेनेजर पूजा डडलानीले इन्स्टाग्राम र एक्स प्लेटफर्ममा पोस्ट गरेकी थिइन् ।
 
‘कतारसँग भारतीय नौसैनिकका पूर्वकर्मीको रिहाइमा शाहरुख खानको संलग्नताको समाचारमा कुनै सत्यता छैन । भारतीयको रिहाइमा भारत सरकारको भूमिका छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शाहरुख अन्य भारतीय जस्तै खुशी छन् किनकी सबै भारतीय सुरक्षित रुपमा घर फर्किएका छन् ।
 
५८ वर्षे शाहरुख हालैमात्र दोहामा आयोजित एसियन फुटबल क्लबको फाइनलमा पुगेका थिए । उनलाई त्यहाँ विशेष अतिथिका रुपमा बोलाइएको थियो ।
 
खाडी देशमा शाहरुखको लोकप्रियता
शाहरुख खान खाडीका कैयौं देशमा लोकप्रिय छन् । सन् २०२२ मा उनलाई दुबईमा ‘ह्याप्पिनेस कार्ड’ दिइएको थियो । उनी दुबईका कैयौं पर्यटन अभियानका अनुहार रहेका छन् ।
 
मार्च २०२२ मा उनले दुबईको पर्यटन अभियानका लागि एक प्रमोसनल भिडियो पनि सुट गरेका थिए ।
 
‘हामी दुबईमा शाहरुख खानलाई स्वागत गर्छौ र उनलाई ह्याप्पीनेस कार्ड दिँदैछौं । यसको उद्देश्य विभिन्न किसिमका छुट र अफरमार्फत उनको खुशी बढाउनु हो,’ त्यस बेला दुबईको रेसिडेन्सी एण्ड फरेन अफेयर्सका महानिर्देशनालयले भनेको थियो ।
 
सन् २०२० डिसेम्बरमा सुरु भएका यो अभियान विशेष गरी पर्यटकका लागि हो । त्यहाँ जाने पर्यटकहरुलाई निःशुल्क वैकल्पिक छुट कार्डको रुपमा ह्याप्पिनेस कार्ड दिइन्छ । जसमार्फत पर्यटकहरुले दुबईमा रहँदा खाना, किनमेल र अन्य चिजहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
 
शाहरुखले पनि दुबई आफ्ना लागि दोस्रो घर जस्तै रहेको बताइसकेका छन् ।
 
‘दुबई मेरा लागि दोस्रो घर हो । यो शहरमा केही त खास छ, जसले मलाई पटक–पटक बोलाउँछ । गत वर्ष मैले यहाँका मानिसबाट माया पाएँ, उनीहरुको सत्कार र यहाँसँग जोडिएका सम्झनाहरुले जहिल्यै मलाई चकित बनाउँछ,’ उनले भनेका थिए ।
 
सन् २०१४ मा शाहरुखले आफ्नो फिल्म ‘ह्याप्पी न्यू इयर’को सुटिङ दुबईमा गरेका थिए । केही समयअघि रिलिज फिल्म ‘पठान’का केही दृश्य पनि दुबईमा छायांकन गरिएको थियो ।
भारतका आठ पूर्व नौसैनिकहरु क्याप्टेन नवतेज गिल र सौरभ वशिष्ठ, कमाण्डर पूर्णेन्दू तिवारी, अमित नागपाल, एसके गुप्ता, बीके वर्मा, सुगुनाकर पकाला र सेलर रागेश रिहा भएका हुन् ।