Trending :
 

गुण्डा नाइके सानुभाइ सहित ५ जनालाई फरार बनाएर ज्यान मार्ने उद्योगको मुद्दा दायर

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं ।
छाया सेन्टरको प्लेब्वाई क्लबस्थित पार्किङमा भएको आक्रमण घटनामा संलग्न गुण्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङ समेतलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।
 
घटनामा संलग्न ७ जना भए पनि २ जना मात्रै पक्राउ परेका थिए। सानुभाइ समेत पाँच जना भने फरार रहेकाले उनीहरु पाँच जनालाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 
 
गत माघको पहिलो साता ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइ समेतको सहूले एक व्यक्तिमाथि आक्रमण गरेको थियो। आफूमाथि सानुभाइ समेत ७ जनाको समूहले आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए। 
 
प्रहरीको जाहेरी पश्चात् प्रहरी वृत्त दरबारमार्गले सानुभाइ समूहका थाते र विश्व भनेर चिनिने बिसु तामाङलाई पक्राउ गरेको थियो। त्यसको केही दिनपछि मार्सल भनिने शैलेन्द्र तामाङ पक्राउ परेका थिए। 
 
सानुभाइ सहित नुवाकोटका कमल तामाङ, शेरबहादुर पौडेल भनिने शेरलाल पौडेल, विनोद तामाङ र रघु तामाङ अहिलेसम्म फरार छन्। यी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 
 
प्लेब्वाई क्लबको पार्किङमा भएको आक्रमण घटनाको सीसीटीभी फुटेज समेत भिडियो सार्वजनिक भएको थियो। जसमा सानुभाइ समेत देखिएका थिए। उनका साथै शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले छमबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।
 
आक्रमणबाट छमबहादुरको हातको कान्छी औंला भाँचिएको थियो। दाहिने आँखामा चोट लागेको थियो। सानुभाइको समूहले धम्की दिँदै सीसी क्यामेरा कैद नगर्ने ठाउँमा लगेर फलामको नक, हेल्मेटले आक्रमण गरको पीडितले बताएका छन्।
 
सातै जना प्रतिवादी विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर गरिएको छ। ज्यान मार्ने उद्योगको कसुर गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।