सहकारी पीडितहरूद्वारा रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा
-आस्था न्यूज
फागुन ३, २०८० काठमाडौं।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकम फिर्ता गराउन सशक्त आन्दोलन छेड्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको हो ।
फागुन ६ गते सहकारी विभागमा धर्ना दिएर आन्दोलनको सुरुवात गर्ने, ८ गतेबाट काठमाडौँ, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमा कोणसभा, घरदैलो कार्यक्रम गर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताइएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीले आफूहरूले सहकारी पीडितहरूको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयनको प्रयाससमेत नभएको बताए । सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकम फिर्ता गराउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म केही काम नगरेको र आफूहरूसँग समन्वयसमेत नगरेको उनको भनाइ छ ।
सरकारको यस प्रकारको गतिविधिले सरकार कसका लागि हो ? भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा ७३ लाख पीडितहरू जोडिएका उनको दाबी छ । उनले ती पीडितहरू विभिन्न दुई सय ८९ सहकारीमा आबद्ध रहेका बताए ।
आफूहरू अब सहकारी पीडितको न्यायका लागि मर्न पनि तयार भएर सडकमा जान लागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतिमा यो आन्दोलन नरोकिने बताए । अब संगठित रुपमा सशक्त आन्दोलनमा छेड्ने उनको चेतावनी छ ।