हात्ती प्रभावित क्षेत्रका बासिन्दाको व्यवस्थापनका लागि ‘संवाद पदयात्रा’
-आस्था न्यूज
फागुन ३, २०८० काठमाडौं।
हात्तीका कारण मानवीय र भौतिक क्षति बढेपछि कोशी प्रदेश सरकारले स्थलगत अवलोकन भ्रमण गरी स्थानीय बासिन्दासँग छलफल र सुझाव संकलन गर्ने भएको छ ।
यसका लागि सरकारले ‘संवाद पदयात्रा’ गर्ने तयारी गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पर्यटन तथा वनमन्त्री गणेश उप्रेती सहितको टोलीले एक सातासम्म पदयात्रा गर्ने भएको हो ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार फागुन ९ गतेदेखि झापाको बाहुँनडाँगीबाट उदयपुरको बेलकासम्म २४० किलोमिटर पैदलयात्रा हुनेछ ।
त्यसक्रममा हात्तीको जैविक मार्ग संरक्षण, हात्ती प्रभावित क्षेत्रमा रहेका बस्तीहरुको स्थानान्तरण र हात्तीलाई मानव वस्तीमा आउन नदिने उपायबारे छलफल गरिने जनाइएको छ ।
प्रभावित क्षेत्रका बासिन्दाको गुनासा र सुझाव संकलन गरी योजना निर्माण गरिने भएको छ ।
मुख्यमन्त्री कार्कीले जङ्गली हात्ती व्यवस्थापन गर्न हात्ती कोरिडोर बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै आएका छन् ।
कोरिडोर क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई मुआब्जा दिएर अन्यत्र स्थानान्तरण गर्नेबारे पनि योजना बनाइने जनाइएको छ ।