पोखरामा लिटरेचर फेस्टिभल सुरु
-आस्था न्यूज
फागुन ४, २०८० काठमाडौं ।
कास्कीको पोखरामा ११औं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार एक समारोहका बीच फेस्टिभलको उद्घाटन गरे ।
सम्बोधनका क्रममा उनले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ ।
उनले भने, ‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ । राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहयोग पु¥याउँछ ।’
लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेकाले पर्यटनमा सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।
पोखरालाई मात्रै नभई नेपाललाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । महोत्सवमा आउने विश्वविख्यात साहित्यकार, कलाकार पोखरा आउँदा प्रचारप्रसारमा पनि सहयोग पुगिरहेको उनको भनाइ थियो ।
‘यहाँ हुने सेसनहरु बौद्धिक, राजनीतिक, प्राज्ञिक वक्ताका कारण नागरिकलाई आकर्षित गरिहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘पोखरा अन्तर्राष्ट्रियस्तरमा झन परिचित हुन सहयोग पुगेको छ ।’ नेपाली कला, संस्कृति तथा बौद्धिक बहसको विकासका लागि महोत्सवले ऊर्जा थपिरहेको उनले बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्गमा देखाउन आवश्यक रहेको बताए । उनले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाए ।
फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले धेरै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो,’ उनले भने ।
कार्टुनिस्टका बादशाह परिचय बनाएका दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ फेस्टिभलकै अवसरमा विमोचन भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै उनले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।
मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा आफूले सहपाठीसमेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्वपूर्ण भूमिका खेलेको सम्झिए । ‘यो अहिले पोखरा चिनाउने गौरवको फेस्टिभल भइसकेको छ । यसलाई निरन्तरता दिन पोखरा महानगरले के सहयोग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने ।
विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए । ‘पोखरालाई कार्टुनमा मात्रै होइन, पानी रङको सहरका रुपमा चिनाउन पनि महत्वपूर्ण भूमिका निभाउनुभएको छ’, उनले भने ।
सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । आगामी सोमबारसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए ।
फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए ।