हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, निःशुल्क सेवा
-आस्था न्यूज
फागुन ४, २०८० काठमाडौं ।
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ ।
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा नं ९ का विपन्न परिवारका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।
उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ मा रहेको दुर्गापुरी उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । वडा अध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र तिरण गरेर निःशुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ ।
उनका अनुसार विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने छ । एम्बुलेन्स खरिदकालागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएका र उनी सहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ ।