चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ गर्ने

फाल्गुण ०४,२०८०

-आस्था न्यूज

फागुन ४, २०८० काठमाडौं ।
फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् ।
 
च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनसट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनुपर्नेछ ।
 
विजेता छान्दा चलचित्र टिमले सृजनसिलता र मिमले प्राप्त गरेको लाइक, शेयर र कमेन्टको संख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।
 
खतिवडाका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद दश हजार रुपैंयाँ र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन् । त्यस्तै, दश जनाले चलचित्र ‘रङ्गेली’को प्रिमियर शो को पास प्राप्त गर्नेछन् ।
 
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।
 
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।