Trending :
 

गठबन्धनको समस्या ढाकछोप गर्दा संकट आउन सक्छः महामन्त्री विश्वप्रकाश शर्मा

फाल्गुण ०४,२०८०

-आस्था न्यूज

फागुन ४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौतीसमेत बढेको निचोड निकालेको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा विधान अधिवेशनका लागि तयार ‘राजनीतिक प्रस्ताव’ मा गठबन्धनको समस्या ढाकछोप भन्दा समाधानतिर जानुपर्ने बताएका छन्। उनले यसरी ढाकछोप गर्दा सत्ता गठबन्धनमा संकट आउन सक्ने भन्दै यस्तो टिप्पणी गरेका थिए। 
 
अघिल्लो प्रतिनिधि सभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गएको निर्वाचनमा एक भएर मैदानमा गएको स्मरण गर्दै शर्माले यसो गर्दा केही उपलब्धि भए पनि असन्तुष्टि र चुनौती पनि बढेको राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्।
 
‘पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा ‘प्री पोल एलायन्स’ हुनु सही या गलत भन्ने दुई थरी मतबीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं’, शर्माले भनेका छन्, ‘त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’
 
महामन्त्री शर्माले गठबन्धनबाट प्राप्त गणितको समीक्षामा ‘भोट ट्रान्सफर’ को विषय चुनौतीपूर्ण विषय रहे पनि ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस पछिल्लो निर्वाचनमा तीन वटै तहमा पहिलो दलका रूपमा स्थापित हुनु गठबन्धनको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।