Trending :
 

बजेट विनियोजन भएको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्णमा पुल निर्माण सुरु

फाल्गुण ०४,२०८०

-आस्था न्यूज

फागुन ४, २०८० काठमाडौं ।
बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। 
 
डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन। 
 
अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिए। ‘विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकार भित्र पर्ने भएपछि ठेक्का रद्ध भएको थियो,’ उनले भने, ‘विसं २०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो।’
 
पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताउनुभयो। नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाइ थियो।  
 
कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ। पाउद्वार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो। 
 
भुरुङ्ग र पाउद्वार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार चार सय ८६ मा ठेक्का सम्झौता गरेको थियो। 
रासस