कृषि समितिबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित
-आस्था न्यूज
फागुन ४, २०८० काठमाडौं ।
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ संसदीय समितिबाट सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले सो विधेयक पारित गर्ने निर्णय गरेको हो ।
समितिका सभापति आरजु राणा देउवाले विभिन्न सरोकारवाला, कृषि, कानून र उद्योग मन्त्रीहरुसँगको पटक–पटकको छलफलपछि आवश्यक संशोधनसहित सर्वसम्मतरुपमा समितिबाट विधेयक पारित गरिएको जानकारी दिइन् ।
राष्ट्रिय सभाबाट पारित भएर आवश्यक ऐन संशोधनको लागि समितिमा आएको विधेयक समिति सदस्य बीरबहादुर बलायरको संयोजकत्वमा उपसमिति समेत बनाएर लामो छलफलपछि शुक्रबार पारित भएको हो ।
सभापति राणाले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य श्रृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्ने गरी खाद्य स्वच्छता सम्बन्धी विधेयक पारित गरिएको बताइन् ।
‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कृषि समितिबाट पास भयो । २०७७ सालदेखि माथिल्लो सदनमा उत्पन्न भएको विधेयक त्यहाँ धेरै छलफल भएर यहाँसम्म आइपुगेको थियो, उनले भनिन्, समितिमा पटक–पटक छलफल, कृषि ,कानून र उद्योग मन्त्रीहरुसहित सरोकारवालासँगको छलफलपछि आवश्यक संशोधनसहित विधेयक पारित भएको छ ।ु
समितिबाट पारित भएको विधेयक अब प्रतिनिधिसभामा पेश हुने छ ।