Trending :
 

तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६,२०८० काठमाडौं । 
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । 
 
पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरु ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरुलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । 
 
प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका–५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रुपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।