Trending :
 

जङ्गलमा भेडीगोठ छिरेका हिमबहादुर यसरी बिताउछन् दैनिकी

फाल्गुण ०६,२०८०

-रासस

फागुन ६, २०८० काठमाडौं ।
दिनभर भेडा-बाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने म्याग्दीका हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ। धवलागिरि गाउँपालिका-५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ।
 
करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट फर्केपछि आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए।
 
शहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिन्छन्।
 
उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्‍याउने गरिन्छ।
 
करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला ६ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको हिमबहादुरले बताए। मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ। घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा-पाटामा गोठ सार्ने गरिन्छ।
 
मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ। मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्‍याएको उनले बताए। 
 
‘वैशाख–जेठसम्म्म अब बेसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ। जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौं”, उनले भने।
 
घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुर्ख्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए।
 
‘पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो। आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ। हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ। हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो। पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ,’ हिमबहादुरले भने।
 
शहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन्। ‘मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुर्ख्यौली ठाउँले मलाई तान्यो। म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ। यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशिर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ,’ उनले भने।
 
४७ वर्षका हिमबहादुरले भेडापालनबाट वार्षिक रु २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताए। ‘भेडाबाख्राको बजारीकरणमा समस्या छैन। भेडा र खसीबोका खोज्दै ग्राहक गोठमै आइपुग्छन्। हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन,’ उनले भने। बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन्।
 
दशैं र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने स्थानीयस्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिका लगायतका देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्न समेत साँढ र बोका धेरै खपत हुने गरेको छ। हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ। भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ।
 
जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपात लगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ। आफूले निरन्तर रूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताए। उनले हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल पर्ने भएकाले आफूले चरन क्षेत्रमा सामूहिक रूपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताए।
 
हिमबहादुर छन्त्यालको भेडीगोठमा अहिले तीन जना हेरालु छन् भने वन्यजन्तुको आक्रमणबाट बचाउन पाँच वटा भोटे प्रजातिका कुकुर समेत रहेका छन्।