Trending :
 

नक्कली डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा छाड्न अदालतको आदेश

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६, २०८० काठमाडौँ । 
नक्कली मेडिकल काउन्सिल नम्बरको आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको शुक्रबारको इजलासले भट्टाचार्यलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। कीर्तेसम्बन्धीको कसुरमा अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
 
भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर माघ ८ गते सार्वजनिक गरेको थियो। पक्राउ परेका भट्टाचार्यले आफूमाथि लागेको आरोपको स्वीकारोक्ति बयान दिएका छन्।
 
उनले आफू एमबीबीएस उत्तिर्ण रहेको तर एनएमसीको परीक्षामा फेल भएपछि अरुकै दर्ता नम्बरबाट काम गरेको स्वीकार गर्दै बयान दिएका छन्।
 
‘मेडिकल काउन्सिलको परीक्षामा अनुत्तिर्ण भएकाले तत्काल काम गर्नका लागि काउन्सिलको इजाजत चाहिने भएकाले काउन्सिलको लेटरहेड तथा छापा प्रयोग गरी इजाजतपत्र नम्बर बनाएर काम गरेको हुँ’ उनले बयानमा भनेका छन्।
 
उनले फरक फरक ३ जना डाक्टरहरुको एनएमसी दर्ता नम्बरबाट काम गर्दै आएका थिए। विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई धौलागिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचारसमेत गराउने गरेका थिए।