सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता रेवतराज पुरीलाई ४ करोड जरिवाना
-आस्था न्यूज
फागुन ६, २०८० काठमाडौँ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’लाई ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै फागुन ६ गतेलाई सजाय निर्धारणका लागि तोकेको थियो। जसअनुसार पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको छ।
त्यसैगरी अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएका सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसलामा उल्लेख गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
उनीहरुसँग प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीले भने सफाइ पाएका थिए। कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ।
झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।