दूध पोखेर विरोध गर्दै कृषि मन्त्रीको राजीनामा माग
-आस्था न्यूज
फागुन ६, २०८० काठमाडौँ ।
चितवनका किसानले दूध पोखेर विरोध गर्दै कृषि मन्त्रीको राजीनामा माग गरेका छन्। दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्।
दूध उत्पादक किसानका समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा माग गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताए।
किसानका समस्या सुल्झाउन सरकार संवेदनशील नभएको देखेका कारण ध्यानाकर्षण होस् भनेर बाध्य भएर दुई क्यान अर्थात् ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको बगालेको भनाइ छ।
चितवनका दूध किसानले साउनयता दूधको भुक्तानी पाउन नसकेको र विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको बगालेले जानकारी दिए।
चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। दुई चार दिनयता डेरी उद्योगले दूध लैजान बन्द गरेकाले ‘मिल्क होलि डे’ मनाउन बाध्य भएको बगालेले बताए।