को बन्ला त्रिविको उपकुलपति ?
-आस्था न्यूज
फागुन ७, २०८० काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा ९२० बमोजिम रिक्त रहेको विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिको लागि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्राध्यापकत्रय बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरेको हो ।
उपकुलपतिका लागि सिफारिस समितिले आवेदन माग गरेकोमा ४३ जनाको आवेदन परेको थियो । तीमध्ये पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनामध्येबाट अन्तरवार्तापछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
अब विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री दाहालले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।