Trending :
 

गोदावरीमा आजदेखि कांग्रेस महासमिति बैठक सुरु

फाल्गुण ०७,२०८०

-आस्था न्यूज

फागुन ७, २०८० काठमाडौं ।
प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो । 
 
कांग्रेस प्रचार(प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए ।
 
आइतबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने उनले बताए । उनका अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् । ‘
 
ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’ विश्वकर्माले भने ।
 
नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ ।
 
महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।