जीबी राई जोडिएको सूर्यदर्शन सहकारी घोटलाको अनुसन्धानका लागि सीआईबीको टोलीले पोखरामा
-आस्था न्यूज
फागुन ७, २०८० काठमाडौँ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी(रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको छ।
ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।
सीआईबीको आर्थिक अपराध हेर्ने पिलरमा कार्यरत रहेर सहकारीकै अनुसन्धान गर्दै आएका इन्स्पेक्टर सहित दुई जनालाई पोखरा पठाएर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जानकारी दियो। ‘विभिन्न टेक्निकल पाटोबारे अनुसन्धानका लागि सहयोग गर्नुपर्ने भनेर माग भएपछि इन्स्पेक्टरको कमाण्डमा दुई जना पठाएका हौं,’ सीआईबी स्रोतले भन्यो।
नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक ९डीआईजी० छविलाल जोशीको शंखमुलस्थित घरमा माघ २४ गते छापा मारेर बरामद भएको चार वटा सर्भरमाथि गहन अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीको टोली पठाइएको स्रोतले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर चार वटा सर्भर बरामद गरेको थियो। उक्त सर्भरमा सहकारीको सम्पूर्ण कारोबार भेटिएको छ।
पूर्वडीआईजी जोशीको शंखमुलस्थित घरमा नेचर हब इन्टरनेसनल प्रालिको अफिसबाट प्रहरीले ४ वटा सर्भर ९डिस्क० मा करिब १० अर्बको कारोबार भेटिएको प्रहरीले जनाएको छ।
बरामद सर्भरहरुमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको प्रहरी स्रोतले जानकारी दियो। यो प्रकरणमा अहिले सीआईबी र कास्की प्रहरीले संयुक्त रुपमा अनुसन्धान अघि बढाएका छन्।
सूर्यदर्शन सहकारीका पीडितहरुले पछिल्लो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यो सहकारीका भएको ठगी प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।