विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छः प्रधानमन्त्री
-आस्था न्यूज
फागुन ८, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताए ।
‘चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा हामीहरू सचेत हुनुपर्ने उनले बताएका हुन् ।
शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक-सैन्य-मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताए ।
“संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतिहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ ” प्रधानमन्त्रीले भने ।
शान्ति स्थापनाको महत्त्वलाई अतिरञ्जित गर्न नहुने बताउँदै उनले त्यसका लागि मानवताको गहिरो भावना, प्रतिबद्धता र कमजोरलाई जोगाउन हस्तक्षेप गर्ने तत्परता आवश्यक पर्ने बताए ।
खतराको ठूलो सामना गरेर शान्ति सैनिकहरूले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्त रूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेको त्यस्ता प्रयासको गहिरो प्रभाव परेको पनि दावी गरे ।
“यस अवसरमा म विश्वभर शान्तिको खोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने “उहाँहरूको निस्वार्थता र समर्पण हामी सबैको लागि प्रेरणाको स्रोत हो ।”
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदाररूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने “नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित छ ।”
नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशांसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारे । उनले विश्वमा शान्ति स्थापना नेपालको विदेश नीतिको महत्त्वपूर्ण अङ्ग रहेको बताउँदै यस कार्यको विश्वले प्रशांसा गरेको स्मरण गरे ।
नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप दश हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको उनले बताए ।