‘महिलालाई अघि बढ्न प्रोत्साहित गरौं’
-आस्था न्यूज
फागुन ८, २०८० काठमाडौं ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अहिलेको वैज्ञानिक समाजमा महिला र पुरुषबीच लैंगिक विभेद हुन नहुने बताएका छन् ।
मंगलबार गार्गी कन्या गुरुकुलले पशुपतिमा आयोजना गरेको महायज्ञको शुभारम्भमा बोल्दै उनले समाजको विकसित रुप प्राप्त गर्नका लागि पुरुष जस्तै महिलाहरु पनि सशक्त हुनुपर्ने बताए ।
उनले भने, ‘अहिलेको युगको मागअनुसार समावेशितामा आधारित भएर वैज्ञानिक समाजमा महिला र पुरुषमा विभेद हुनु हुँदैन । पुरुषहरु जत्तिकै महिला पनि सशक्त हुनुपर्दछ । वास्तवमा समाजका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा महिलालाई पनि प्रोत्साहित गर्नुपर्छ ।’
पुरुषजस्तै महिलाहरुले धार्मिक पुस्तकहरुको व्याख्या गर्न सके समाज उन्नति पथमा लम्किने प्रमुख गुरुङको भनाइ थियो ।
संविधानमा धर्म निरपेक्षमा कायम गरिएपनि बहुसंख्यक हिन्दु भएकाले त्यहीअनुसार ऐन र कानुन निर्माण गर्नुपर्ने गुरुङले उल्लेख गरे ।
नेपालको परम्परागत धार्मिक कुरालाई सनातन हिन्दु धर्मले कायम गरेको भन्दै सबैले यसतर्फ सचेत हुनुपर्ने उनको धारणा थियो ।