‘रंगेली’को ट्रेलर आयो, कथामा डर र शक्तिको खेल

फाल्गुण ०९,२०८०

-आस्था न्यूज

फागुन ९, २०८० काठमाडौं ।
महाशिवरात्रिको दिन पारेर यही फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । 
 
राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएकोे ट्रेलर डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 
 
ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको फिल्ममा नेपालका तराई क्षेत्रमा भएका विविध घटना र आयामहरूलाई दृश्यमार्फत देखाउने कोसिस गरिएको छ । साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।
 
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदी ‘रंगेली’दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेको बताए । 
 
उनले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो चलचित्र बनाएका छौं । रंगेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौं ।’
 
अभिनेता रुपेश झाले ‘रंगेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।
 
‘रंगेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । 
 
गीतहरू हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेका छन् भने संगीत सुशान्त गौतम र हर्कुलस बस्नेतले दिएका छन् । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुन् । 
 
निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।