जग्गा मात्र बेचेर अफिस चलाउँछौं भन्ने छुट कसैलाई छैनः मन्त्री गुरुङ
-आस्था न्यूज
फागुन ९, २०८० काठमाडौं ।
सहरी विकास मन्त्री सीता गुरुङले जग्गा मात्र बेचेर अफिस चलाउँछौं भन्ने छुट कसैलाई नभएको बताएकी छन् ।
राष्ट्रिय आवास कम्पनी लिमिटेडको ३५ औं वार्षिकोत्सव समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले समयअनुसार उद्देश्य पनि परितर्वत गर्नु आवश्यक रहेको भन्दै जग्गा मात्र बेचेर अफिस चलाउँछौं भन्ने छुट नहुने बताइन ।
उनले भनिन्, ‘सर्वसाधारणलाई सेयर छुट्याउने कुरा छन् । यो आफू आत्मनिर्भर नहुँदा संस्था कहाँ पुग्छ ? अन्तिम गन्तव्य स्थान सफा नहुँदा हामी अलमलमा पर्दछौं । समयअनुसार उद्देश्य पनि त परिवर्तन गर्नुपर्ने देखिन्छ । हिजो हामीले जग्गा मात्र बेच्छौं र हाम्रो अफिस चलाउँछौं भन्यौ भने त्यो छुट अब छैन । किनकी अब जग्गाको संख्या थपिने होइन, घट्ने अवस्थामा छ ।’
सुकुम्वासी समस्या समाधान र अव्यवस्थित बसोबासको आवास व्यवस्थाका लागि राष्ट्रिय भूमि आयोग बनाइएको भन्दै उनले अहिले आवास कम्पनीलाई आयोगको नक्कल गर्न खोजेको हो कि भन्ने प्रश्न उठिरहेको बताइन । उठेको सो प्रश्नलाई आवास कम्पनीले चिर्नुपर्ने उनको भनाइ छ ।
‘सुकुम्वासी समस्या समाधान गर्नका लागि र अव्यवस्थित बसोबासको पनि आवासको व्यवस्था गर्नका लागि राष्ट्रिय भूमि आयोग बनाइएको छ र त्यसबाट काम पनि भइरहेको छ,’ उनले भनिन्, ‘राष्ट्रिय भूमि आयोगले कहीँ कतै असर पारेको हो कि डुप्लिकेसन हुन खोजेको हो कि भन्ने प्रश्नहरु पनि उठेको छ । यसलाई राष्ट्रिय आवास कम्पनीले चिर्नुपर्ने छ । भूमि आयोग निश्चित समयको लागि हुन्छ भने आवास कम्पनी दीर्घकालीन रुपमा छ ।’
काम गर्दा सरकारका निकायबीचमा दोहोरोपना नआइ समन्वय हुनुपर्नेमा उनको जोड थियो ।