Trending :
 

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित

फाल्गुण १०,२०८०

-आस्था न्यूज

फागुन १०, २०८० काठमाडौं ।
प्रतिनिधि सभाको हिउँदे अधिवेशनको चौथो बैठकमै सांसदहरुले हाटा गरेका छन्। सांसदहरुले हाजिर गरेर आफ्नो काममा निस्किँदा विधेयक निर्णायार्थ पेस गर्न समेत संख्या पुगेन। राजनीतिक दलसम्बन्धी संशोधन विधेयक २०८० माथि प्रतिनिधि सभामा छलफल भइरहेको थियो।
 
नेमकिपाका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए। उक्त सूचनालाई निर्णयार्थ पेस गर्ने क्रममा गणपूरक संख्या नपुगेको पाइएको हो।
 
संसद्‌मा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा ६९ जना हुनुपर्छ। जुन जम्मा २७५ को एक चौथाइ हो। 
 
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक संख्या नपुगेकोतर्फ नियमापत्ति गरेका थिए। तीन मिनेट घन्टी बजाएर यकिन गर्दा बैठकमा सांसद्को संख्या जम्मा ६५ पाइएको हो।
 
सांसदको उपस्थिति हुने सम्भावना नदेखिएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। बिहीबार कार्यसूचीमा रहेका सूचीहरु हटाइएको छ।