जिल्लाको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग गर्दै उच्च पुगे सन्दीप लामिछाने
-आस्था न्यूज
फागुन १०, २०८० काठमाडौं ।
जिल्ला अदालत काठमाडौंकको फैसलालाई चुनौती दिँदै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन्।
बिहीबार पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफैं पुगेका छन्। अस्पतालवाट डिस्चार्ज भएका उनी अदालतमा मुद्दा दर्ताका लागि आफ्ना कानुन व्यवसायीसहित पुगेका हुन्।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन माग गरेका हुन्। पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन।
लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी लामिछानेले गरेका छन्। सन्दीप पक्षले उमेर पुगेका दुई युवा(युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलात्कार नै हो भनी किटान नगर्ने दाबी गरेका छन्।
निवेदक पक्षले पुनरावेदन गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।
जिल्ला अदालतले सजाय निर्धारण गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले खेलभन्दा बाहिर छन्। अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ। उच्च अदालत पाटनका अनुसार उनको निवेदन दर्ता प्रक्रियामा रहेको जानकारी दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो। एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीप विरुद्ध जाहेरी दिएकी थिइन्।