Trending :
 

मन्त्री ज्वालाका बारेमा निर्णय गर्न एकीकृत समाजवादीमा अन्योल

फाल्गुण १०,२०८०

-आस्था न्यूज

फागुन १०, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादी आफ्ना नेता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने/नगर्ने अन्योलमा छ । बालकुमारी घटनामा छानबिन समितिले ज्वालाई दोषी दोखाएको थियो । उक्त घटना छानबिनको प्रतिवेदन समितिले प्रधानमन्त्रीलाई बुझाए पनि सार्वजनिक नहुँदा आवश्यक निर्णय लिन नसकेको पार्टीले जनाएको छ । 
 
एकीकृत समाजवादीको बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री ज्वालाको विषयमा पार्टी अप्ठ्यारोमा परेको बताए । प्रतिवेदन सार्वजनिक नहुँदा आन्तरिक रुपमा बहस र छलफल गरे पनि आवश्यक निर्णय लिन नसकेको जानकारी उनले दिए । 
 
उनले भने, ‘आजको बैठकमा मन्त्री प्रकाश ज्वालाको विषयमा हामी आफैं अप्ठ्यारोमा परेका छौं । प्रतिवेदनलाई क्याबिनेटले अध्ययन गर्ने र त्यसको निष्कर्षको आधारमा अगाडि बढ्ने भन्नुभएको छ । अध्ययन भएको कुरा हामीलाई जानकारी भएको छैन । प्रतिवेदन बाहिर सार्वजनिक भएको छैन । प्रतिवेदनमा कसलाई के कारणले दोषी देखाइयो भन्ने कुरा जानकारी पाउन सकेको छैनौं । बाहिर मिडियामा लेखिएका समाचारहरुले हाम्रो ध्यानाकर्षण भएको छ । आन्तरिक रुपमा बहस छलफल गरेका छौं । तर प्रतिवेदन पढ्न नपाएको कारण निष्कर्ष निकाल्न नसकेको हो ।’ 
 
कोरियाली भाषा परीक्षामा सहभागिता माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवकको मृत्यु भएको थियो । घटनास्थलमा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो । 
प्रवक्ता खतिवडाले गोली हान्ने गृह मन्त्रालय, गृहमन्त्री र श्रममन्त्री कुनै मन्त्री ज्वाला नभएको भन्दै के कारणले दोषी देखाइयो भनेर बुझ्न नसकेको हुँदा प्रतिवदेनको निष्कर्षपछि मात्र पार्टीले आवश्यक निर्णय गर्ने बताए ।