Trending :
 

सर्वोत्तम सिमेन्टको आईपीओ सर्वसधारणका लागि बिक्री खुल्ला

फाल्गुण १३,२०८०

-आस्था न्यूज

फागुन १३, २०८० काठमाडौं। 
सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) आजबाट सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको छ ।
 
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको कम्पनीको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । 
 
कम्पनीको प्रिमियम मूल्य ३६०.९० रुपैयाँमा तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । 
 
पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रूपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छुट गरी सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो । 
 
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
 
तेस्रो चरणमा बिक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीहरूका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ । यी बाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्काशनमा ल्याएको हो ।
 
फागुन १३ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला भएको कम्पनीको सेयरका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । तथापि, माग गरेअनुसार आवेदन नपरेमा भने ढिल्लोमा फागुन २७ गतेसम्म बिक्री लम्बिने कम्पनीले जनाएको छ ।