श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो

फाल्गुण १३,२०८०

-आस्था न्यूज

फागुन १३, २०८० काठमाडौं ।
बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् । चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् ।
 
उनले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाइन् ।
 
उनको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उनी र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुगेका थिए । निधनको अघिल्लो दिन उनका पति बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बसेकी थिइन् । यही बीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुगे । जुन कुराले श्रीदेवी निकै खुशी थिइन् ।
 
दुवैजना रोमान्टिक डेटमा जाने तयारीमा थिए । जसका लागि तयार हुन श्रीदेवी बाथरुम गइन् । तर उनी त्यहाँबाट फर्किइनन् । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि  बोनी बाथरुममा हेर्न गए । तर ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उनले ढोका तोडे । उनले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेटे । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो ।
 
श्रीदेवीसँग जोडिएका धेरै किस्साहरु बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह(१९९२)’को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी और अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौं हिस्सामा पुगेका थिए । तर त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । जहीँतहीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिसहरु घर बाहिर निस्कन डराइरहेका थिए ।
 
सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उनी त्यहाँको राष्ट्रपति बने । नजीबुल्लाह भारतीय फिल्मका ठूला प्रशंसक थिए । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उनीहरुले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाए ।
 
उनीहरुले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार–ए–शरीफ पुगे । राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गरे ।
 
फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गथ्र्यो । कैयौं पटक यस्तो पनि भयो कि श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे ।
 
जसै सुटिङ सकिन्थ्यो, गोली बारी फेरी सुरु हुन्थ्यो । एकपटक त अफगानिस्तानका मिलिटेट कमाण्डर रकेट फायर गर्न लागेका थिए, तर श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उनले फायरिङ रोकेका थिए ।
 
यही कारण अफगानिस्तानका मानिसहरु श्रीदेवीलाई शान्तिका प्रतिक मान्छन् । अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’बाट सम्मान गरेका थिए ।