कालीकोटको सुनथरालीमा निर्माण शुरु भएको विमानस्थलमा ३८ वर्षपछि जहाज परिक्षण
-आस्था न्यूज
फागुन १३, २०८० काठमाडौं ।
निर्माण शुरु भएको ३८ वर्षपछि कालीकोटको सुनथराली विमानस्थलमा बल्ल परीक्षण उडान भएको छ । आज प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।
२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।
आज उडान सफल भएकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो ।
२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुन लाग्दा स्थानीयवासी खुशी भएका छन् ।