मतदाता नामावली संकलन स्थगित
-आस्था न्यूज
फागुन १३, २०८० काठमाडौं ।
प्रतिनिधि सभाको इलाम क्षेत्र २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।
आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा २ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था रहेको छ ।
इलाम क्षेत्र२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।
यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।