अख्तियारले डामेका र पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाऔं: गगन थापा
-आस्था न्यूज
फागुन १४, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा दोहोरी चलिरहने हो भने मूल विषयपनि छाँयामा पर्ने अवस्था रहेको भन्दै अख्तियारले डामेका, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका झन्डावालाको झन्डा छोपेर घर पठाउन आग्रह गरेका हुन् ।
उनले भने, ‘विगत केहि दिनदेखि संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्नेभयो ? मूल विषय पनि छायामा पर्नेभयो । अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’
उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने धारणा राखे ।
उनले भने,‘अनि सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन् घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला । फुलमाला लगाएर स्वागत पनि गरौंला । दोषी भए दण्ड व्यर्होनु होला ।’