‘विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भयो’
-आस्था न्यूज
फागुन १४, २०८० काठमाडौं ।
राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन् ।
सोमवारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्थामा विश्वविद्यालयले प्राज्ञिक मर्यादा कायम राख्न नसकेको भन्दै त्यसका सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘पछिल्लो समय गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्था छ । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयले प्राज्ञिक मर्यादा कायम राख्न सकेका देखिँदैन । विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप देखिन्छ । त्यसैले विश्वविद्यालयको संरचनामा परिवर्तन र सुदृढिकरण गर्न ढिला भइसकेको छ । गर्व महशुस गर्नेगरी विश्वविद्यालयले काम गर्न सकेको छैन् । ’