बाराको एक ग्यारेजमा भएको विस्फोटमा परी ३ जनाको मृत्यु
-आस्था न्यूज
फागुन १५, २०८० काठमाडौं ।
निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको हो । विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
निजगढ नगरपालिका-९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचार पछि घर फर्किएका छन् ।
विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’