रास्वपाका ३ प्रदेशका महामन्त्री हटाइए
-आस्था न्यूज
फागुन १५, २०८० काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।
कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् ।
कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए । तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो ।
चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो ।
त्यस्तै गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए ।
‘उहाँको कार्यसम्पादन राम्रो देखिएन। बसोबास गरेको ठाउँहरुको पैसा नतिरेको कुराहरु आएका छन्’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘जिम्मेवारी अनुसारको काम त हुनुपर्यो । नमस्ते खानका लागि पाएको जिम्मेवारी होइन ।’ अहिले गण्डकीको महामन्त्रीको भूमिकामा नवीन त्रिपाठी छन् ।
६ फागुनमा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी नै विघटन गरिदिएको छ । सभापति धिरज वली नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको हो ।